काठमाडौं, भदौ ३ ।
गैरआवासीय नेपाली संघ, एनसीसी जापानको चुनावमा भएको धाँधलीको छानबिन गर्न माग गर्दै नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोमा उजुरी परेको छ । एनसीसी जापानका केही पञ्जीकृत सदस्यहरुले आफूहरु मताधिकारबाट बन्चित भएको र आफ्नो नामबाट अरु कसैले आफूलाई थाहा नै नदिर्ई मतदान गरेको भन्दै छानबिनका लागि साइबर क्राइम ब्यूरोमा उजुरी दिएका हुन् ।
जापानमा नयाँ कार्य समिति चयनका लागि गत जुलाई ३० मा अनलाइन मतदान भएको थियो । सो मतदानमा निर्वाचन समितिसँगको मिलेमतोमा केही व्यक्तिहरुले एउटै कम्प्युटरबाट सैयौं व्यक्तिको भोट खसालेको र सम्बन्धित मतदातालाई त्यसबारेमा जानकारी समेत नभएको बताइएको छ ।
‘एनआरएनए जापानको दशौं अधिवेशनको लागि डिजिटल प्रकृयाबाट भरिएको हाम्रो फर्म इमेल हाम्रो जानकारी एवम् हाम्रो अनुमति नलिइकन तेश्रो व्यक्तिले हाम्रो इमेल परिवर्तन गरी मतदान गरेको हुनसक्ने हुनाले उचित छानबिन गरी पाउँ,’ साइबर क्राइम ब्यूरोमा पठाइएको निवेदनमा उल्लेख छ ।
‘तेश्रो व्यक्ति वा असम्बन्धित व्यक्तिले हाम्रो इमेल अनुमतिविना फेरबदल गरी मतदान गरी हाम्रो मतदान गर्न पाउने हक अधिकारबाट बन्चित गरिएको छ, जुन नेपाल तथा अन्तर्राष्ट्रिय साइबर कानुन अन्तर्गत अपराध हुन आउँछ’ निवेदनमा भनिएको छ, ‘त्यसैले उक्त व्यक्ति वा समूह जो कोही भए पनि कानुन बमोजिम छानबिन गरी साइबर कानुन अन्तर्गत कारबाही गरी पाउँ’ ।
गैर आवासीय नेपाली नेपाली संघ नेपाल सरकारको कानुन अन्तर्गत परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । संघमा हुने अनियमितताको छानबिनमा नेपालको कानुन सिधै आकर्षित हुन्छ । एनआरएन जापानमा भएको चुनावमा गरिएको धाधलीको छानबिन गर्न माग गर्दै
नेपालको परराष्ट्र मन्त्रालय मा पनि उजुरी परेको छ। निर्वाचनमा धाँधली भएको प्रमाणसहित आइसीसीका दुई तथा अध्यक्षका चार जना उम्मेदवारसहित २९ जना उम्मेदवारले तत्कालै निर्वाचन समितिमा उजुरी दिएका थिए । उम्मेदवारहरुले संघको आइसीसीमा पनि छानबिनका लागि निवेदन दिएका थिए ।
उजुरीपछि संघले छानबिन समिति बनाएर छानबिन थालेपछि छानबिनको प्रतिवेदन सार्वजनिक नहुँदै आइसीसीकै केही उच्च पदाधिकारीहरुको दबाबमा निर्वाचन समितिले एक पक्षलाई निर्वाचित भएको प्रमाणपत्र दिँदै सपथ गराएपछि यो विवाद नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोसम्म पुगेको हो ।