जापानब्यापी निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक, गुन्मा केनका बिमान किराती भए प्रथम

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  796 पटक हेरिएको

जापान, साउन ३२ ।  

गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा आयोजना गरिएको जापानव्यापी खुल्ला निबन्ध प्रतियोगिताको नतिजा हिजो एक औपचारिक जुम भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ । उक्त जापानब्यापी खुल्ला निबन्ध प्रतियोगितामा बिमन किराती प्रथम भएका छन् । आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए क्युस्यु) ले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार गुन्मा केनबाट प्रतियोगितामा सहभागि जनाएका किरातीले ३२ प्रतिस्पर्धीलाई उछिन्दै प्रथम भएका हुन् । यसैगरी फुकुओका केनबाट बिनोद पौडेल द्वितीय भएका छन भने ओइता केनबाट प्रशान्त गुरुङ तृतीय भएका छन । यस्तै उक्त कार्यक्रममा चौथो भई सान्त्वना पुरस्कार विजेता भने साइतामा केनबाट कृष्ण शिशिर भण्डारीले पुरस्कार आफ्नो हात पार्न सफल भएका छन् ।

प्रथम भएका किरातीले ७५ हजार येन, द्वितीय भएका पौडेलले ४५ हजार येन, तृतीय गुरुङले २० हजार येन र सान्त्वना भण्डारीले १० हजार येन पुरस्कार पाएका छन् । जापानमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, रोजगार र व्यवसायमा आबद्ध गैरआवासीय नेपालीहरुमा लुकेको साहित्यिक प्रतिभा प्रस्फुटन गर्ने मूल उद्देश्यका साथ ‘मैले चिनेको र चाहेको एनआररएनए’ विषयमा प्रतियोगिता आयोजना गरिएको थियो।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर एनआरएनए क्युस्युद्वारा आयोजित उक्त निबन्ध प्रतियोगिताका लागि सफल व्यवसायी, समाजसेवी एवं गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसी निवर्तमान सदस्य टंक गैरेले सम्पूर्ण पुरस्कार राशि सहित प्रायोजन गरेका थिए । २०२१/०७/१६ बाट २०२१/०८/१० सम्म जापानभरीबाट ३२ वटा निबन्ध एनआरएनए क्युस्यु कार्यसमितिलाई प्राप्त भएको थियो । निर्णायकको भूमिकामा कुमामोतो विश्व विद्यालय, कुमामोतोका उपप्राध्यापक प्रकाश पौडेल (माइला) अनेसास केन्द्रीय कार्यसमिति अध्यक्ष प्रकाश न्यौपाने र नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद देवकोटा रहेका थिए ।

नतिजा घोषणा कार्यक्रममा प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, विशेष अतिथिहरु एनआरएनए आईसीसी निवर्तमान सदस्य एवं प्रायोजक टंक गैरे, हाम्रो नेपाल हामी नेपाली अभियान प्रमुख संयोजक धर्मराज अधिकारी, एनआरएनए आईसीसी सदस्य लक्ष्मण बानियाँ, एनआरएनए आईसीसी सदस्य सुपेन्द्र घिसिङ्ग, नेफिन क्युस्युका अध्यक्ष रोसनकुमार राई, एनआरएनए जापान क्युस्यु पूर्वसंयोजक किरण बर्मा, नेसाज सल्लाहकार नरेन्द्र बस्नेत, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका निवर्तमान अध्यक्ष सन्तोष थापा, एनआरएनए जापान सचिव देवराज उप्रेती, एनआरएनए सदस्य हेमा पाण्डे, प्रकाश लामिछाने, मोहन सिंह मडै, फुकुओका बाणिज्य दूतावास सेक्रेटरी दिपक देवकोटा, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान शाखा वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सिग्देल, एनआरएनए क्युस्यु सल्लाहकार कृष्ण खरेल, फुकुओका नेपाल सोसाइटी अध्यक्ष माधव सिग्देल, लायन्स क्लब ३२५ A२ अन्तर्गत जोन चिएअर पर्सन ज्योति केसी, एनआरएनए क्युस्यु सल्लाहकार सुन्दरमणि रेग्मी, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब शंकर केसी,लगायत एनआरएनए जापानका क्षेत्रीय कार्यसमितिका संयोजक तथा कार्यसमिति एवं पत्रकारहरुको उपस्थिति थियो ।

एनआरएनए क्युस्युका संयोजक अर्जुन थापाले निबन्ध प्रतियोगीताले एनआरएनएको बारेमा बौद्धिक बहस एवं चिन्तनको सुरुवात भएको महसुस भएको बताएका छन् । उनले प्राप्त निबन्धलाई दस्ताबेजको रुपमा राखी सबैलाई उपलब्ध गराउने जानकारी गराए । सक्रिय सहभागिता, सुझाव सल्लाहले एकदम उत्साहित भएको बताउँदै उनले आगामी दिनहरुमा पनि यस्तै साथ एवं सहयोग रहने अपेक्षा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार