बार्सिलोनाले बायर्नसँग लज्जास्पद हार, बायर्नसँग ८–२ को हार ब्यहोर्दै बार्सिलोना क्वाटरफाईनलबाटै बाहिरियो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1280 पटक हेरिएको

एजेन्सी, साउन ३० ।  

जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । शुक्रबार राति लिस्बनमा भएको खेलमा बार्सिलोनाले बायर्नसँग ८–२ को लज्जास्पद हार बेहोर्दै क्वाटरफाइनलबाटै बाहिरिएको हो । बायर्नको सानदार जितमा थोमस मुलर र फिलिपे कौटिन्होले समान २–२ गोल गरे । जोसुवा किम्मिच, सर्जी जिनाब्री, रोवर्ट लेवान्डोस्की, र इभान पेरिसिचले समान १–१ गोल थपे । बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गर्दा अर्को गोल डेविड अलाबाको आत्मघाती गोल थियो ।

खेलको तेस्रो मिनेटमा नै बायर्नले लेवान्डोस्कीको गोलबाट अग्रता बनाएको थियो । तर, बायर्नको उक्त अग्रता ३ मिनेट पनि टिकेन । छैटौं मिनेटमा जोर्डी अल्बाले गरेको क्रसलाई क्लियर गर्ने क्रममा डेविड अलाबाको क्लियरेन्स आफ्नै पोस्टमा छिर्न पुग्यो । २०औं मिनेटमा लियोनेल मेस्सीले दुई डिफेन्डरलाई छलाउँदै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक नोएरले सहजै बचाए ।

लगत्तै बायर्नले इभान पेरिसिचको गोलबाट खेलमा २–१ को अग्रता बनायो । २७औं मिनेटमा सर्जी जिनाब्रीको गोलबाट बायर्नले ३–१ को अग्रता लियो । ३१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बायर्नले पहिलो हाफमै ४–१ को आरामदायी अग्रता बनायो । ५७औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई ४–२ को अवस्थामा ल्याउदै खेलमा फर्कने संकेत गरे ।

६३औं मिनेटमा बायर्नले किम्मिचले गोल गरेपछि बायर्न ५–२ ले अघि बढ्दा बार्सिलोनाको सम्भावना सकिएको थियो । ८२औं मिनेटमा फिलिपे कोउटिन्होको क्रसमा लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै बायर्नलाई ६–२ ले अघि बढाए ।

८५औं मिनेटमा फिलिपे कोउटिन्होले आफ्नै प्यारेन्ट क्लबविरुद्ध गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अघि बढाए । ८९ औं मिनेटमा कोउटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ८–२ को सानदार जित दिलाए । कौटिन्हो अघिल्लो सिजन बार्सिलोनाबाट लोनमा बायर्न पुगेका थिए । बायर्नले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार