इटालियन क्लब एटलान्टामाथि नाटकीय जित निकाल्दै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  127 पटक हेरिएको

एजेन्सी, साउन २९ ।  

इटालियन क्लब एटलान्टामाथि नाटकीयय जित निकाल्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्वनमा बुधबार राति भएको खेलमा हार नजिक पुगेको पीएसजीले अन्तिम समयमा २ गोल गरेपछि एटलान्टालाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

मारियो पासालिचको गोलबाट एटलान्टाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, अन्तिम तीन मिनेटमा मार्किन्योस र चुपो मोटिङले गोल गरेपछि पीएसजी विजयी रहयी । खेलको तेस्रो मिनेटमा नै नेयमारले अवसर खेर फाल्दा पीएसजीले शुरुमै अग्रता लिन सकेन । मैदानको मध्य भागबाट एक्लै बल अगाडी बढाएका नेयमारले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार पोस्टबाट बाहिरिएको थियो ।

११औं मिनेटमा कप्तान पापु गोमेजको क्रसमा हान्स हाटेबोरको हेडरलाई गोलरक्षक केलर नाभासले डाइभ दिँदै बचाए । १९औं मिनेटमा पीएसजीले काउन्टर अट्याकमा अगाडि बढाएको मुभमा नेयमारको पास माउरो इकार्डीले बुझ्न नसक्दा फ्रान्सेली टोलीले अग्रता लिने अर्को अवसर गुमायो । २६औं मिनेटमा मारियो पासलिचको गोलमा एटलान्टाले अग्रता लियो ।

लगत्तै नेयमारले उत्कृष्ट मुभ बनाउँदै तीन डिफेन्डरलाई छलाएर पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो । ३५औं मिनेटमा नेयमारले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई गोलरक्षक स्पोर्टिएल्लोले दोस्रो प्रयासमा बचाउदै बराबरी टारे । त्यसको दुई मिनेटपछि नै नेयमारको फ्रिकिकमा रिबाउन्ड आएको बललाई साराबियाले प्रयास गरेपनि गोलरक्षक स्पोर्टिएल्लो बाधक बने ।

५८औं मिनेटमा फ्रिकिकमा रिबाउन्ड आएको बललाई जिम्सितीले पोस्टको दिशा दिन सकेनन् । ६०औं मिनेटमा साराबियाको स्थानमा मैदान प्रवेश गरेका एमबाप्पेले ७४औं मिनेटमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलरक्षक स्पोर्टिएल्लोले बचाए । ९०औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो । निकै दबाबका बीच आक्रामक मुभ बनाएको पीएसजीका लागि मार्किन्हसले गोल गरे ।

चुप मोटिङको क्रसमा नेयमारको प्रहार डिफेन्डरले रोकेपनि मार्किन्योसले बललाई पोस्ट पार गराएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा चुपो मोटिङले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । नेयमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपोले गोल गर्दै गीएसजीलाई २–१ को रोमाञ्चक र नाटकीय जित दिलाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार