श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लाग्ने ललितपुरको कृष्ण मन्दिर कोरोनाका कारण भक्तजनहरुका लागि बन्द

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  826 पटक हेरिएको

काठमाडौँ, साउन २७ ।   

आज श्रीकृष्ण जन्माष्टमी पर्व , वैदिक सनातन धर्मावलम्बीले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

यस अवसरमा जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।

यसैबीच, श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लाग्ने ललितपुरको कृष्ण मन्दिर आज मंगलबार भक्तजनहरुका लागि बन्द हुने भएको छ ।

कोभिड–१९ महामारी व्यापक फैलिएका कारणले स्थानीय जनप्रतिनिधि, पुजारी, मंगल टोल सुधार संघ, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला व्यक्तिहरु बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले यस वर्ष आन्तरिक पूजामा मात्र सिमित हुने बताउनुभयो । प्रत्येक वर्ष भाद्र अष्टमीमा श्रीकृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर मुलुकभर कृष्ण मन्दिरमा मेला लाग्ने गर्दछ ।

पाटन दरवार क्षेत्रस्थित कृष्ण मन्दिरमा अष्टमीकै दिन राष्ट्रप्रमुखबाट पनि पूजा अर्चना गरिने प्रचलन समेत रहेको छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौा गर्भबाट भगवान विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

यसैबीच, राष्ट्रिपति विद्यादेवी भण्डारीले विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आज एक शुभकामना सन्देश दिदै उहाँले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना जागृत गरी हामी बीचको भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी कामना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार