काठमाडौं, साउन २६ ।
शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंका बिगतमा नै सिआईबिको अनुसन्धानमा तानिएका नेपाली कांग्रेसका सांसद डा। सुनिल शर्मा पक्राउ परेका छन् । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा। शर्माले एमबीबीएस पढ्दा पेश गरेको आईएस्सीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो ।
सीआईबीले शर्मालाई बिहान ११ बजेतिर गोल्फुटारस्थित निजको घरबाट नियन्त्रणमा लिएका थियो भने यसबारे सभामुखलाई अपराह्न जानकारी गराएको छ । संघीय संसदका सम्मानित जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गर्दा प्रतिनिधि सभाको सभामुखलाई जानकारी गराउनु पर्ने प्रावधान रहेको छ ।
संविधानको धारा १०३ मा सांसद पक्राउसम्बन्धी व्यवस्था छ, जसअनुसार अधिवेशन चलेको बेला फौजदारी अभियोगमाबाहेक अरुमा संघीय सांसदलाई पक्राउ गर्न नपाउने उल्लेख छ । फौजदारी अभियोगमा पक्राउ गरे त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने भनिएको छ । शर्माको दल कांग्रेसले भने आफ्ना सांसद शर्मा पक्राउको सम्बन्धमा औपचारिक रुपमा केही बोलेको छैन ।
शर्माको विवादित विगत
सांसद शर्मा नोबेल मेडिकल कलेज, विराटनगर र काठमाडौं मेडिकल कलेज (केएसमसी), सिनामंगलका सञ्चालक हुन् । उनी मेडिकल क्षेत्रमा उनी जसरी आए, त्यसमा थुप्रै प्रश्न छ । नोबेल मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाउन भूमिका खेलेका उनको समूहले वाईसीएलसँग मिलेर डा. ज्ञानेन्द्र गिरी समूहको शेयर हत्याएको आरोप छ । २०७० को दशकको सुरुवातमा नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरुलाई प्रभावित पारेर क्षमताभन्दा बढी एमबीबीएस र एमडीको सिट निर्धारण गराए, जुन राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनले पुष्टि गरेको छ ।
उनले सञ्चालन गरेको मेडिकल कलेजले विद्यार्थीहरुसँग सरकारले तोके भन्दा बढी शुल्क लिएका दर्जनौं उजुरी परे । सरकारले ४५ लाख रुपैयाँ शुल्क तोकेको अवस्थामा नोबेललगायतका कलेजले ७५ लाख रुपैयाँसम्म लिएको पाइएको थियो ।