काठमाडौँ, साउन २५ ।
सात वर्षअघिको नवौं महाधिवेशनबाट निर्वाचित बहुपदीय संरचनाको अभ्यासमा गएको एमाले अब शक्तिशाली अध्यक्षात्मक प्रणाली अघि बढ्ने भएको छ । पदाधिकारीहरू सबै महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुने अभ्यासबाट पछि हट्दै अब अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय सदस्यहरूको मतको आधारमा चयन गर्ने व्यवस्था गरेको छ ।
केन्द्रीय कमिटीले सोमबार पारित गरेको संशोधित विधानले विगतमा पार्टीभित्र हुँदै आएको उच्चतम लोकतान्त्रिक अभ्यासलाई केही खुम्च्याउने छ । अब महाधिवेशनबाट अध्यक्ष मात्र प्रत्यक्ष निर्वाचित हुनेछन् । त्यसबाहेकका पदाधिकारीहरू केन्द्रीय कमिटी सदस्यहरूमध्येबाट चयन हुनेछन् ।
‘अध्यक्ष र सदस्य महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुने । अन्य पदाधिकारी कमिटीले निर्वाचित गर्ने’ संशोधित विधानमा छ । यसअघि पदाधिकारीहरू पनि महाधिवेशन र अधिवेशनबाट चयन हुन्थे । महाधिवेशन र अधिवेशनमा प्यानल बनाउन नपाउने व्यवस्था पनि एमालेले गरेको छ ।
पदाधिकारीको संख्या अध्यक्ष–१, उपाध्यक्ष– २, महासचिव–१, उपमहासचिव– २ र सचिव– ७ जना रहने छन् । यसअघि उपाध्यक्ष ५ जना हुन्थे । अब घटेर २ जनामा सिमित गरिएको छ । यसअघि सचिव ५ जना हुन्थे । अब यो संख्या बढेर ७ पुग्ने छ । पोलिटब्यूरोको व्यवस्था हटाइएको छ ।
नेकपा एमालेले पार्टीको लोगो तथा चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव:-
नेकपा एमालेले आफ्नो लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो । केन्द्रीय कमिटीमा सोमबार पेस गरिएको प्रस्तावमा लोगो परिमार्जनबारे उल्लेख छ, ‘पार्टीको लोगोलाई सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने ।’
यसअघि एमालेको लोगको सूर्य थियो । जुन उसको चुनाव चिह्न पनि हो । त्यस्तै, पार्टीका औपचारिका कार्यक्रमहरूमा राष्ट्रिय झन्डा र राष्ट्रिय धुन अनिवार्य गर्ने भनेको छ ।