एनआरएनए युकेको अध्यक्ष पदमा प्रेम गाहामगर सहित पूरै प्यानल विजयी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  490 पटक हेरिएको

लण्डन, साउन २२ ।   

एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन्। एनआरएनए यूके इतिहासमा पहिलोपटक भएको अनलाइन मतदानमा उनले अध्यक्षका अन्य दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन । निर्वाचन समितिले लण्डन समयानुसार शुक्रबार राती एक पत्रकार सम्मेलन गरी निर्वाचित कार्यसमिति घोषणा गरेको हो ।

जसअनुसार अध्यक्ष निर्वाचित गाहामगरले ४ हजार ५ सय ७४ मत पाएका छन् भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको छ ।

बक्सर र गोर्खासैनिक हुँदै एनआरएनए यूके अध्यक्ष

संघमा आर्थिक पारदर्शीता र गोर्खा मुद्दालाई प्राथमिकता दिएका गाहामगर नेपालमा राष्ट्रिय बक्सिङ खेलाडी थिए ।  गाहामगरले सन् १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका थिए । त्यस लगत्तै सन् १९९७ मा उनले ब्रिटिश सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ प्रतियोगितामा भाग लिएका थिए। सामाजिक सेवामा सधैं दत्तचित्त गाहा मगर एनआरएनए यूकेमा दुई पटक उपाध्यक्ष भएका थिए ।

पहिलो पटक उपाध्यक्ष हुँदा (२०१७-१९) उनले बक्सिङ शो सहित च्यारिटी डिनर, नेपालका अपांग दाजुभाई दिदी बहिनीहरुको सहयोगार्थ कार्यक्रम तथा भ्वाइस अफ नेपाल कन्सर्ट सफलतापूर्वक सम्पन्न गरे । गत वर्ष कोरोना संक्रमणबाट भूतपूर्व गोर्खा परिवारलाई जोगाउन उनले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत निशुल्क वितरण गरेका थिए ।

अन्य पदमा को को विजयी ?

एनसीसी यूकेको २ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९  र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् । सोही पदका अन्य प्रत्यासीहरु पवन शर्माले २ हजार ३ सय ६४  , तेजेन्द्र रोकाले १ हजार ४ सय ३५ र अमन गौचनले ९ सय २५ मत पाए ।

महिला उपाध्यक्षमा मतसहित शकुन्तला गुरुङ ३ हजार ७ सय ४३ ल्याएर विजयी भइन् । उनका दुई प्रतिस्पर्धी सरस्वती केसी २१५२ र प्रसुना कंडेलले २ हजार ४ सय ६९ मत प्राप्त गरे ।

नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल ४ हजार ४ सय ९५  मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नारायण कुँवरले २ हजार ७ सय ४८  मत पाए । एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी छबिलाल अर्यालले २ हजार ९ सय ९ मत पाए ।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९  र डा मुकुन्द बांस्तोलाले  २ हजार ३ सय २५ मत ल्याए ।

२ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हात पारे । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए ।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही,  इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल  र बालकृष्ण दाहाल विजयी भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार