काठमाडौं, साउन २१ ।
नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय समितिको बैठक प्रज्ञा भवन काठमाण्डौँमा जारी छ । उक्त जारी केन्द्रिय कार्यसमितिको बैठकमा नेकपा माओवादी केन्द्रका दुई उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आफ्नो असन्तुष्टि केन्द्रीय समितिमै राखेका छन् । साथै पार्टी विधिसम्मत लोकतान्त्रिक रुपमा चलाउनु पर्ने र यदि उक्त लोकतान्त्रिक रुपमा चलाए कार्यकर्ताबाटै चुनिएर उत्तराधिकारीका रुपमा आउने सन्देश समेत दिएका छन् ।
नेकपा माओबादीका यी दुई नेता एक अर्काका प्रतिस्पर्धी मानिएका छन । पुन र शर्मामाथि पार्टीभित्र गुट सञ्चालन गरेको र अध्यक्ष प्रचण्डलाई असहयोग गरेको आरोप समेत लाग्दै आएको छ । चार दिनदेखि चलिरहेको केन्द्रीय समितिमा शनिबार बोलेको दुई नेताले भने आफूप्रति बढ्दै गएको पार्टी पंक्तिको संशयलाई प्रचण्डतर्फ सोझ्याएका छन् ।
पुस २०७८ मा भएको पार्टीको आठौं महाधिवेशनमा दुबै नेता महासचिवका आकांक्षी थिए । दुबैमध्ये एक रोज्न नसकेका प्रचण्डले करिव ६ महिनापछि देव गुरुङलाई महासचिव बनाएका थिए । अहिले फेरि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका नेत्रबिक्रम चन्द विप्लवलाई ल्याएर महासचिव बनाउने चर्चा पार्टी पँत्तिमा चल्न थालेको छ । माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्ने आकांक्षा राख्दै आएका पुन र शर्मा दुबै यसप्रति सन्तुष्ट छैनन् । उनीहरुले आफ्नो असहमति केन्द्रीय समितिमै राखेका छन् ।
‘हामी तपाईंकै हौं, दुई जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ’ प्रायः खरो शैलीमा प्रस्तुत हुने उपमहासचिव शर्माले बैठकमा भनेका छन्, ‘सोही प्रस्तावलाई सहज रुपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौं के उपमहासचिब जनार्दन शर्माले बताएका थिए । पार्टीभित्र समूहहरू रहेको स्वीकार गरेका उपमहासचिव शर्माले त्यसको व्यवस्थापनका लागि प्रचण्डले भूमिका खेल्नुपर्ने बताए भने पुनले विधि निर्माणको प्रसंग उठाए ।
कम्युनिष्ट पार्टीमा अध्यक्षपछिको महत्वपूर्ण र शक्तिशाली पद महासचिव मानिन्छ र दुबै पहिल्यैदेखि यो पदका लागि प्रतिस्पर्धामा छन् । उपमहासचिव पुनले स्पष्ट शब्दमा भने, ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु । तर उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔँ ।’ पार्टीमा देखिएका समस्याको हल आगामी विधान सम्मेलनबाट गर्नुपर्ने भन्दै पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको पनि उनले बताए ।