काठमाण्डौं, साउन १४ ।
नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भुभागमा नेपालीलाई नै प्रवेशमा रोक्ने गरी भारतले पठाएको पत्रको जवाफ नेपालले दिएको छ । नेपालले ती भुभाग नेपालको भएको र नेपाली भूमिमा कुनै पनि नेपालीलाई बाधा नगर्नु भनि जिल्ला प्रसासन कार्यलय दार्चुलाले मंगलबार भारतलाई जवाफ फर्काएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले दुःख नदिन भनेको छ ।
गृहमन्त्रालयको निर्देशनमा यो जवाफी पत्र लेखिएको हो ।
पत्रमा भारतले दाबी गरेको भूमि नेपालको भएको प्रस्ट भएकाले नेपालीलाई बाधा–अड्चन नगर्न भनिएको छ । दार्चुलाका सिडिओ पोखरेलका अनुसार पत्रमा ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ । यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा त्यसमा कहीँकतैबाट बाधा–अड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी गराउँछौँ’ भन्ने उल्लेख छ । पत्र इमेलमार्फत पठाइएको सिडिओ पोखरेलले बताए ।
सन् १९६२ मा चीनसगँ भारतको युद्ध भएका बेला नेपालले १८ ठाँउमा भारतीय सेनाका लागि पोष्ट राख्ने अनुमति दिएको थियो । तर युद्ध पछि भारतले १६ ठाँउबाट आफ्नो सेना फिर्ता लगे पनि कालापानीका दुई क्षेत्रबाट फिर्ता लगेको थिएन । त्यही भुभाग अहिले भारतले आफ्नो दाबी गर्दै सडक नै बनाए पछि नेपालले कडा विरोध जनाउदै आएको छ । नेपालीलाई छाङरुको सीतापुलभन्दा माथि जान भारतले छेक्ने गरेको छ ।
भारतले कालापानीबाट लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरिरहेको छ । नेपालको बिरोधका बाबजुद भारतले बाटो निर्माण अझै रोकेको छैन ।