टोकियो ओलम्पिकबाट गौरिका समूह चरणबाटै बाहिरिइन, आफ्नै नाममा रहेको कीर्तिमान भने सुधार

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  624 पटक हेरिएको


काठमाडौं, साउन १३ ।   

टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् । टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकालिन् । गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उनी तेस्रो स्थानमा रहिन् ।

गौरिकाले लङ कोर्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी छिन् । गौरिकाले सन् २०१९ मा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा १ मिनेट ००.६२ सेकेण्डको समय निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३ औं सागमा सर्ट कोर्समा भने गौरकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

सुरुको ५० मिटरमा गौरिका अघि रहेपनि पछिल्लो ५० मिटरमा उनले राम्रो प्रदर्शन गर्न सकिनन् । यो चरणमा नाइजेरियाकी अबिओला ओगुनबाङ्गो ५९.७४ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहिन् । यस्तै मोन्टेनेग्रोकी एन्डेला अन्टुनोभिक १ मिनेट ००.०१ सेकेण्डसहित दोस्रो स्थानमा रहिन् । यस स्पर्धामा कूल ५१ खेलाडीको सहभागिता छ र उत्कृष्ट समय निकाल्ने १६ खेलाडी मात्र सेमिफाइनलमा प्रवेश गरेका छन् ।लगातार दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी गौरिकाले अर्का पौडी खेलाडी एलेक्ससंगै टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोकेका थिए । टोकियो २०२० ओलम्पिक खेलमा नेपाली सहभागितामा मात्र सिमित हुन पुगेका छन ।

अर्का पौडी खेलाडी आलेक्सजान्डर शाहले हिजो पुरुष १०० मिटर फ्री स्टाइलमा सहभागी भए। ७० जना खेलाडीहरू सहभागी भएको सो खेलमा आलेक्सले ५३.४१ सेकेण्डमा १०० मिटरको दूरी पूरा गरेर आफूलाई ६०औं नम्बरमा स्थापना गरेका छन्। ती ७० जना खेलाडीलाई ९ समूहमा (हरेक समूहमा जना खेलाडी) विभाजन गरिएको थियो। आलेक्स रहेको समूह १ (Heat 1) मा भने ७ खेलाडी मात्र थिए। उनले सो समूहका सबैलाई जितेका छन्। तर ७० जना खेलाडीमा टप १६ जना (४७.७१-४८.४४ सेकेण्डमा १०० मिटर दूरी पूरा गर्ने) मात्र सेमिफाइनलमा उक्लिन पाउने हुनाले गौरीका जस्तै आलेक्सले पनि टोकियो २०२० ओलम्पिक अखडामा एक पटक मात्र अनुहार देखाएर बाहिरिनु पर्यो।

आलेक्स र गौरीका दुवै जना प्रवासमा (अमेरिका र बेलायतमा) हुर्केका र तालिम पाएका नेपाली खेलाडी हुन्। सेमिफाइनलमा जान नपाए पनि १९ वर्षका आलेक्स र गौरीका दुवै जनाले आफ्नो क्षमता अभिवृद्धि गरेका छन्। आलेक्सले उनको एन्ट्री टाइम रेकर्ड ५६.२८ सेकेण्डलाई ५३.४१ सेकेण्डमा झारेका छन् भने गौरीकाले उनको एन्ट्री टाइम रेकर्ड ६०.६२ सेकेण्डलाई ६०.११ सेकेण्डमा झारेकी छन्। रियो दे जानेइरो २०१६ ओलम्पिकको उनको रेकर्डभन्दा ८ सेकेण्ड चाँडो भएकी छन्।
कुनै पनि राजनीतिक दलको झण्डा नओढाई, काखा-पाखा नगरी राष्ट्रका उदीयमान खेलाडीका रूपमा यिनलाई प्रशिक्षण दिने वातावरण सिर्जना गरेर दुवै जनालाई अरू ६ सेकेण्ड चाँडो बनाउन सकेमा नेपालले पनि ३ वर्षपछिको पेरिस २०२४ ओलम्पिकमा पदक पाउने आशा गर्न सकिन्थ्यो। टोकियो २०२० ओलम्पिक सुटिङ र जुडो खेलमा सहभागी भएका कल्पना परियार र सोनिया भट्टले पनि एक पटक सहभागिता मात्र जनाए, प्रतिस्पर्धामा आउन सेकेनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार