काठमाण्डौ, साउन १२।
धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो ।
प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले आइतबार साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना संक्रमितको मृत्यु भएपछि सुरक्षा सतर्कता अपनाउने सम्बन्धी छलफल भइरहेको जानकारी दिए ।
वीरगञ्जमा निधन भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि
वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको मेसु डा. मदन उपाध्यायले जानकारी दिए । मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या थियो । कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा उनको स्वाब संकलन गरी उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयरमा लगिएको थियो । त्यहाँ गरिएको आरडीटी परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
आरडीटी पोजेटिभ देखिएसँगै उनलाई शनिबार राति वीरगञ्ज हेल्थकेयरबाट गण्डक अस्पतालमा भर्ना गरिएको थियो । शनिबार राति ११ बजे अचानक उनको अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गण्डक अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार उपचारका क्रममा उनको आइतबार बिहान ६ः१० मा मृत्यु भएको थियो । उनी वीरगञ्जस्थित आदर्शनगरमा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।