५ हजार बढी विद्यार्थीलाई छात्रवृत्ति दिँदै सीटीईभीटी, अनलाईन फाराम भर्ने अन्तिम दिन साउन १२ गते

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  449 पटक हेरिएको

काठमाडौं, साउन ९ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा दिने छात्रवृत्तिका लागि आवेदन फाराम खुला गरेको छ । सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले एक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको हो । यसअन्तर्गत इच्छुक विद्यार्थीले आगामी साउन १२ गतेसम्म सीटीईभीटीको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

यस शैक्षिक वर्षमा सीटीईभीटीले ‘प्रि डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८०’ अनुसार प्री डिप्लोमा तहमा १,८३६ र डिप्लोमा तहमा ३,६७४ गरी कुल ५,५१० विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो। सीटीईभीटीले सम्बन्धन प्राप्त आङ्गिक, साझेदारी, टेक्स ९सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा० तथा निजी शिक्षालयहरूमा अध्ययन गर्नका लागि यस्तो छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

यसका लागि साउन १२ को राति १२ बजे भित्र अनलाइनबाटै प्रवेश शुल्क भुक्तानी गरी अनलाइन आवेदन दिनुपर्ने सीटीईभीटीले जनाएको छ । सीटीईभीटीले दिने उक्त छात्रवृत्तिका लागि अनलाइन आवेदन फाराम भर्दा डिप्लोमा तथा प्रमाणपत्र तहको एक हजार रुपैयाँ र प्रि-डिप्लोमा तहको पाँच सय रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ ।

सो शुल्क कनेक्ट आईपीएसको डाइरेक्ट अनलाइनबाट भुक्तानी गर्न सकिन्छ । परीक्षा केन्द्र भने प्रदेश कार्यालयले सिफारिस गरी पठाएको स्थानमा हुने बताइएको छ । परीक्षा केन्द्रको विषयमा साउन १५ गते सूचना प्रकाशित गरिने सीटीईभीटीले जनाएको छ ।

सुरुमा सीटीईभीटीको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) अथवा सीटीईभीटी परीक्षाको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मा जानुहोस् ।

त्यसपछि त्यहाँ रहेको ‘क्लासिफाइड अनलाइन फर्म’ (Classified Online From)  मा क्लिक गर्नुहोस् । अब आफूले अध्ययन गर्न चाहेको एउटा स्तर डिप्लोमा तथा पीसीएल वा प्रि डिप्लोमा मध्ये आफूले आवेदन दिन चाहेको तह छनोट गरी ‘न्यु युजर’ (New User) मा क्लिक गर्नुहोस् । आफ्नो नाम, थर र मोबाइल नम्बर राख्नुहोस् र ‘प्रोसिड’  (Proceed)  मा क्लिक गर्नुहोस् ।

त्यसपछि शुल्क जम्मा गर्न ‘पे नाउ’ (Pay Now) छनोट गर्नुहोस् र त्यसका लागि सम्बन्धित कम्पनी रोजेर पुनः ‘प्रोसिड’ (Proceed) मा क्लिक गर्नुहोस् । शुल्क जम्मा भएको प्रमाणीकरण पश्चात् आफ्नो पासवर्ड तयार गर्नुहोस् र त्यसपछि ‘क्लासिफाइड स्कलरशिप अनलाइन एप्लिकेसन फर्म’ (Classified Scholarship Online Application Form) खुल्छ । उक्त फर्ममा उल्लेखित आवश्यक विवरण भर्दै जानुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार