विराटनगर, साउन ८ ।
अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएपछि विराटनगरस्थित विराटनगर अस्पताल –विराट नर्सिङ होम) सील गर्दै ढोकामा ताला लगाईएको छ । बुधबार अस्पतालको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकको स्वाब परीक्षण प्रतिवेदन कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो ।
निजी अस्पताल विराटले पहिचान लुकाएर स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएको थियो । कोशीको ल्याबले पोजेटिभ रिपोर्ट दिएपछि संक्रमितको पहिचान विराटले लुकाएको थियो । बुधबारदेखि मोरङ प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलिले संक्रमितको खोजि गरेका थिए ।
पहिचान लुकाएका कारण संक्रमित पहिचान हुन नसकेपछि मोरङ प्रहरीले बुधबार साँझदेखि नै अस्पताल भित्रैका सदस्य भएको हुनसक्ने आशंका गर्दै अनुसन्धान सुरु गरेको थियो । बिहीबार अस्पतालले प्रशासनले संक्रमितको पहिचान खुलाएको थियो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले तत्काल अस्पताल सिल गर्ने निर्णय गरेको थियो । त्यसपछि विराटनगर महानगरपालिकाले अस्पतालक सिल गरेर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अस्पताल सिल गरेर कन्ट्याक्ट ट्रेसिङ लगायतको काम सकेपछि अस्पताललाई डिस्इन्फेक्टेड गरिने छ । विराटनगर महानगरपालिकाका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले अस्पतालको गेटमा सुचना टाँस गरेर अनिश्चितकालका लागि सिलबन्दी गरिएको जानकारी दिनुभयो ।