काठमाण्डौ, साउन ७ ।
सरकारले लामो समय देखिको कोरोना लकडाउन अन्त्य भएको घोषणा गरेसङै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि भदौ १ बाट प्रशिक्षण गर्न दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो। यस्तै अन्तर्राष्ट्रिय खेलकुदका प्रारम्भिक चरणका खेल पनि भदौ १ बाट गर्न दिने पनि मन्त्रिपरिषद्को निर्णय छ।
‘अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरू भदौ १ गतेबाट गर्न पाउने गरि निर्णय भएको छ,’ सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री युवराज खतिवडाले भने।
यद्यपी समूहमा खेलिने घरेलु खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुतीहरू भने सञ्चालन गर्न पाइनेछैन। समूहमा खेलिने प्रतियोगिताहरू सञ्चालन गर्ने मिति अर्को सूचनाबाट जानकारी गराउने प्रवक्ता खतिवडाले बताए। कोरोना भाइरसका कारण गत चैत पहिलो सातादेखि नेपालमा आयोजना हुने सबै खाले खेलकुद प्रतियोगिता र गतिविधि ठप्प छन्।