ओलि सरकारले गरेको राजदुत नियुक्ति सिफारिस खारेज, कोरोना खोप उपलब्ध गराउने राष्ट्रलाई धन्यबाद ज्ञापन थप खोप सहयोगको आह्वान

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  490 पटक हेरिएको

काठमाण्डौा, साउन ४ ।  

सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। ओली सरकारले जेठ १ मा यी देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। आज बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको बताए। ‘११ जना राजदूतहरू नियुक्त भएका थिए, त्यो निर्णय खारेज गर्ने निर्णय भएको छ,’ उनले भने।

संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको छ। अघिल्लो सरकारले गत जेठ १ गते रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रियाका लागि राजदूत नियुक्त गरेको थियो। अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, ब्राजिकलका लागि नारायणप्रसाद संग्रौला, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, रूसका लागि जंगबहादुर चौहान, डेनमार्कका लागि सुमित्रा सुवेदी, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, साउदी अरेबियाका लागि मेराज मुसलमान र बहराइनका लागि यूवराज कार्कीलाई राजदूत सिफारिस गरेको थियो।

यी मध्ये बहराइनका लागि सिफारिस गरिएका कार्कीको नियुक्ति सर्वोच्च अदालतबाटै खारेज भएको थियो। आज बसेको मन्त्रिपरिषदको बैठकबाट नेपाललाई कोरोना खोप उपलब्ध गराउने राष्ट्रहरुलाई धन्यबाद पनि दिएको छ । साथै सरकारले थप खोप उपलब्ध गराउन आह्वानसमेत गरेको छ।

‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई नेपाल सरकारले धन्यवाद दिने निर्णय गरेको छ,’ सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरूलाई आह्वान गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार