लिग टु क्रिकेटमा नेपाल नामिबियासँग फेरि पराजित, अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग भिड्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  113 पटक हेरिएको

काठमाडौं, साउन १ ।  

ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७-५ ओभरमै १३६ रनमा अलआउट भयो । यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ र आसिफ शेखले ३४ रन बनाए । यस्तै आदिल आलमले २० र रोहित पौडेलले १७ रन जोडे । पवन सर्राफ १० रनमा अविजित रहे ।६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाललाई अलआउट गर्न नामिबियाका बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ५ विकेट लिए । उनले ९-५ ओभरमा २ मेडन राख्दै जम्मा २२ रन खर्चिए । जान फ्रांकलिनले ३ विकेट लिए ।

अयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९-२ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको थियो । नामिबियाका लागि कप्तान जेरार्ड एरासमसले सर्वाधिक ५३ रन बनाए । डेभिड विजाले ३४ र डिभान ला कुक र जेजे स्मिथले समान २७ रन जोडे । बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २-२ तथा वसिर अहमदले १ विकेट लिए । शृङ्खलाको अन्तिम खेलमा नेपालले आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार