काठमाडौं, असार २७ ।
नेपालमा यस अघि मृत्यु भएका एक व्यक्तिमा कोराना संक्रमण पुष्टी भएको छ । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा पनि मृत्यु पछी कोरोना संक्रमण पुष्टि भएको हो ।
गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।
मृगौला पीडित उनलाई स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।
कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ । नेपाली सेनाको टोलीले आज विहान उनको शव व्यवस्थापन गरेको छ ।