काठमाण्डौँ, असार २५ ।
नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले भारतीय संचार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल–चीन सम्बन्धबारे प्रचार गरिरहेका भिडियो सामग्रीबारे राजनीतिक र कानुनी उपचार खोज्ने अवस्था आउनसक्ने बताएका छन् । भारतीय संचार माध्यमले प्रकाशित र प्रचार प्रसार गरिरहेका भिडियो सामग्रीबारे कूटनीतिक, राजनीतिक र कानुनी बाटो खोज्ने अवस्था आउने मन्त्री खतिवडाले बताए ।
पछिल्लो समय भारतीय संचार माध्यमहरूले प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतलाई लिएर आपत्तिजनक सामग्रीहरु तयार पारेर प्रचार गरिहरेका छन् । त्यसलाई लिएर नेपालमा भारतीय मिडियाको आलोचना भइरहेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भारतीय संचार माध्यमले प्रधानमन्त्री ओली, नेपाल(चीन सम्बन्धलाई लिएर भारतीय संचार माध्यमका सामग्रीबारे सोधिएको प्रश्नमा भने, ‘दुर्भाव फैलाउन र चरित्र हत्या गर्ने, मर्यादालाई आँच पुर्याउने, प्रतिष्ठा घटाउने गरी गरिएका समाचारको भर्त्सना गर्छौं ।’
मन्त्री खतिवडाले थपे, ‘सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफैं अनुशासनमा बसोस् । उसले स्वस्थ र सही समाचार मात्रै सम्प्रेषण गरोस् भन्ने हुन्छ ।’
‘यो कुरामा कूटनीतिक माध्यम पनि परिचालन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अस्वस्थ र हाम्रो राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र नेपालीहरूको स्वाभिमानमा आँच पुर्याउने किसिमका समाचारहरू सम्प्रेषण नगर्न सबै मिडियाहरूलाई हामी अनुरोध पनि गर्छौं । त्यसमा छिमेकी देशका मिडियाहरू पनि पर्छन् । राजनीतिक र कानुनी दुवै उपचार खोज्नु पर्ने हुन्छ ।’