जापान, असार २३ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचनमा क्यूशुबाट मोहन सिंह मडैले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । सामाजिक सञ्जालमार्फत एक सूचना प्रकाशित गर्दै मडैले युवा बिध्यर्थी सहितको सहभागिता, उत्कृष्ट एनआरएनए मेरो प्रतिबद्धता भन्ने मूल नाराका साथ एकता, सद्भावका साथ सबैलाई जोड्ने साझा एनआरएनए बनाउन विशेष सक्रियता रहने प्रतिबद्धतासहित उम्मेदवारी दिने जानकारी दिएका हुन् । मडै २०१५-२०१७ एनआरएनए जापान, क्युस्यु क्षेत्रीय कार्यसमिति सदस्य, २०१७-२०१९ कोषाध्यक्ष र २०१९-२०२१ उपसंयोजक बनेका थिए ।
विभिन्न भिषामा झण्डै झण्डै लाखको हाराहारी गैर आवासीय नेपालीहरु जापानमा वसोबास गर्दै आएका छन् । हालको तथ्यांक अनुसार १०/११ हजार जनाले मात्र एनआरएनए अभियानको सदस्यता लिएको अवस्था छ । एनआरएनमा अधिक नेपालीलाई जोड्ने प्रयासमा गर्ने बताएका मडैले आफूलाई जापानको केन्द्रीय सदस्य पदमा निर्वाचित गराएमा सामाजिक कार्यप्रति मन र वचनले अग्रसर हुन र निरन्तरता दिन टेवा पुग्ने विश्वास दिलाएका छन् ।
साथै समस्यामा परेका तथा सम्भावना बोकेका हरेक नेपालीहरुलाई आफ्नो क्षमता, बुद्धि र विवेकले भ्याएसम्म संस्थाको विधिविधानमा रही सहयोग गर्ने भन्दै सबैको अविभावकत्व हुने एनआरएनए बनाउन कटिबद्ध रहने एजेन्डा पनि अघि सारेका छन् । मोहन सिंङ मड़ई सुदूरपश्चिम नेपाली समाज जापान, क्यूशु क्षेत्रको पूर्व अध्यक्ष समेत हुन ।