काठमाडौं, असार २१ ।
पार्टी एकता जोगाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भोली फेरी निर्णायक वार्ता हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै सहमति नजुटेपछि भोली फेरी निर्णायक छलफल हुने गरी आजको छलफल सकिएको हो ।
भोली सोमवार नै नेकपाको स्थायी समितिको बैठक पनि बस्दैछ । उक्त बैठकअघि ओली र दाहालले बसेर वार्ता गरी विवाद समाधानको प्रयास गर्ने आजको बैठकले निर्णय गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकारी दिए । आफू निकट नेताहरूसहित छलफलमा बसेका दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उनले बताए ।
दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ । दुवैबीच राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भइरहेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको बैठकमा सहभागी अर्का एक नेताले बताए । ‘राष्ट्रपतिलाई महाभियोग लगाउने भन्नेबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाइ लिएर अध्यक्ष प्रचण्डले यस्तो छलफल नै नभएको बिषय कसरी आयो भनेर सोधेका थिए ।
प्रचण्डले आफू निकट नेताहरूबीच राष्ट्रपतिबारे त्यस्तो छलफल नभएको बताएको ती नेताको भनाइ छ । आज पनि दुइ नेताले सहमतीका लागि प्रयास भने जारी राख्ने बताइएको छ । पार्टी भित्रको मतभेदमा राष्ट्रपतिलाई मुछ्न नहुनेबारे अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । छलफलमा ईश्वर पोखरेल, विष्णु पौडेल, वर्षमान पुन, शंकर पोख्रेल, जनार्दशन शर्मा सहभागी थिए । नेकपाले स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।