टोकियो, जापान, असार १७ ।
जापानमा पुन एक नेपालीको निधन भएको छ । जापान अध्ययनका लागि आएर केहि महिना अघिबाट जागिरे जीवन सुरुवात गरेकी एक नेपाली चेली टोकियोमा आफ्नै कोठामा मृत फेला परेकी छिन् । प्राप्त जानकारी अनुसार ४ बर्ष अघि भाषा विद्यार्थीको रुपमा जापान आएकी कविता राजवंशी आफ्नै कोठामा मृत भेटिएकी हुन् । नेपाल मोरगं जिल्ला बेलबारी नगरपालिका वार्ड नम्वर ९, डांगिहाट स्थायि घर भएकी कविता हानेदा इन्टरनेशनल एयरपोर्टको टर्मिनलमा कार्यरत थिइन् ।
जुन २८ तारिखबाट सम्पर्क विहिन बनेकी कवितालाई ४ दिनपछि जुलाई १ तारिख शनिवार टोकियो ओमोरीमा रहेको उनको कोठामा झुण्डिएको अवस्थामा मृत फेला पारिएको हो । जुन २७ तारिख कामबाट फर्किएपछि २८ तारिख सँगै कामगर्ने बलामी थरकी साथिसँग सामान्य कुराकानी भएपछि कविता सम्पर्क विहिन बनेकी थिइन् । तीनदिनसम्म बेखवर बनेपछि कम्पनी र उनको साथिहरुले खोजि गर्दै प्रहरीमा खवर गरेपछि कोठाको झ्याल फुटाएर भित्र पस्दा झुण्डिएको अवस्थामा मृत फेला पारिएको बुझिएको छ ।
मृतकको निकट एक साथिका अनुसार बेलाबखत कविताले काममा ‘स्ट्रेस’ भएको बताउने गरेकी थिइन् । ‘तर यतिसम्म दुःखद घटना होला भनेर आफुहरुले कहिल्यै नसोचेको’ ति साथिले बताइन् । घटनाको पकृति हेर्दा कविताले आत्महत्या गरीएको जस्तो देखिएको प्रहरीले बताएको छ । यद्यपी प्रहरीले पोष्टमार्टमका लागि शव नियन्त्रणमा लिएर रिपोर्ट आएपछि मात्र मृत्युको कारण थाहा हुने बताएको छ । दुःखद घटनाको बारेमा नेपालस्थित परिवारजनलाई खवर गरिसकिएको बुझिएको छ ।