पोखरा, असार १६ ।
संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने संयन्त्र राष्ट्रिय समन्वय परिषदको पहिलो बैठक शनिबार पोखरामा बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रदेशका मुख्यमन्त्रीहरु, स्थानीय तहका जनप्रतिनिधिसहितको बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता अन्त्य गर्नेलगायतका विभिन्न ६ वटा महत्वपूर्ण निर्णय गरेको छ ।
संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा १६ मा संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय समन्वय परिषद रहने व्यवस्था छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नेतृत्वमा कार्यविस्तृतिकरण परिमार्जन गरी तीनै तहका सरकारबीचको अधिकारमा ६ महिनाभित्र स्पष्टता ल्याउने निर्णय गरेको मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताए ।
दोहोरो–तेहरो अनुदान बन्द गर्ने
बैठकले अनुदान वितरण दोहोरो नपर्ने गरी क्षेत्र तोक्न एक समिति गठन गर्ने निर्णय गरेको छ । तीनै तहबाट जाने अनुदानको शीर्षक, प्रकृति र रकम अध्ययन गरी दोहोरो अनुदान बन्द गर्न समिति गठन गर्ने र त्यसमा प्रदेश तथा स्थानीय तहलाई समेत सहभागी गराउने निर्णय भएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए ।
अहिले संघ, प्रदेश र स्थानीय तहले आआफैं अनुदान रकम वितरण गर्दा कतिपयले दोहोरो अनुदान लिइरहेको र अनुदानको प्रभावकारिता नभएको गुनासो बढेको थियो । बिना समन्वय अनुदान वितरण गर्दा पहुँचवालाले पटक पटक पाउने, कसैले पाउँदै नपाउने परिस्थितिको अब अन्त्य हुने गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृतको २ वर्ष सरुवा नगर्ने
बैठकमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत कम्तीमा २ वर्षका लागि खटाउने सहमति भएको छ । प्रदेशमा खटिएका सचिव पनि एक वर्ष सरुवा नगर्ने सहमति भएको बैठकमा सहभागी एक सचिवले संचारमाध्यमलाई बताए । संघले प्रमुख प्रशासकीय अधिकृत र प्रदेशका सचिव पठाउने र प्रदेश तथा स्थानीय तहले हाजिर गराउने सहमति भएको ती सचिवले जानकारी दिए ।
हाजिर नगराउने प्रदेश वा स्थानीय तहको अनुदान रोक्का गर्ने पनि निर्णय भएको उनले बताए । कतिपय प्रदेशले प्रमुख प्रशासकीय अधिकृत आफैं खटाउने गरी प्रदेश निजामती ऐन बनाएका छन् ।