काठमाडौं, असार १७।
युवासंघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेलाई प्रहरी कार्यालय भित्र अभद्ध ब्यबहार तथा कुटपिटको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलाले सरकारी कागजपत्र तथा छाप किर्ते गरेको पाईएको छ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको पाइएको प्रहरीले जनाएको हो । प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले अनुसन्धानका क्रममा सरकारी लिखत कागज पत्र कीर्ते गरेको प्रमाण फेला परेको बताएका हुन । ‘पक्राउ गरेर खनतलासी लिँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो,’ सिंहले संचारकर्मीसँग भने, ‘ती कागजपत्रलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फर्जी भेटिएको हो ।’
मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दका अनुसार संग्रौलासँग पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र भेटिएको थियो । ‘४ असार २०७४ मा जारी भएको जन्मदर्तामा गाउँ विकास समिति उल्लेख थियो,’ चन्दले भने, ‘जबकि त्यसअघि नै गाविस खारेज भएर गाउँपालिका भइसकेको थियो, यही शंका लागेर थप प्रमाणीकरणका लागि पत्र पठाएका थियौं ।’
त्यसक्रममा संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको प्रहरी बताउँछ । उनका पति उपाध्यायले चाहिँ नाता प्रमाणीकरणको पत्र कीर्ते गरेको चन्द बताउँछन् । उनका अनुसार अछामको मंगलसेन नगरपालिकाबाट नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको देखिएको छ । ‘डिभोर्सको पत्र भेटिए दुवैजना सँगै थिए,’ उनी भन्छन्, ‘कागजपत्रबारे विस्तृत अनुसन्धान हुँदैछ ।’
तीन मुद्दामा अनुसन्धान
काठमाडौंका एसएसपी सिंहका अनुसार संग्रौलाविरुद्ध अभद्र व्यवहारको कसूर, जातीय भेदभाव ऐन र सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा छानबिन भइरहेको जनाएको छ । अभद्र व्यवहारको कसूरमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्छ । जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।