काठमाडौं, असार १५ ।
पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् ।
थप एकको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो ।
श्वासप्रश्वासको कठिनाइ भएपछि अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो । त्यही दिन स्वाब संकलन गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यही राति उनको मृत्यु भयो भने १४ गते कोरोना संक्रमण भएको रिपोर्ट आएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।
ललितपुरको स्टार अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, निधन हुनेको संख्या २९ पुग्यो