भारतको ईसारामा सरकारबाट हटाउने खेल शुरू भयो: प्रधानमन्त्रि के.पि शर्मा ओलि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  492 पटक हेरिएको

काठमाडौं , असार १४ ।   

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको दाबी गरेका छन् । त्यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ । पछिल्लो समय पार्टी भित्र र बाहिरबाट चौतर्फ़ी घेराबन्दीमा परेको भन्दै यस्तो बताएको हो ।

मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ …।’

आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको उनले स्मरण गरे । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए । उनले भने, ‘नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’

‘चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो । बाहिर भन्न नसक्ने तर भित्रभित्रै यस्तो अपराध गर्ने केपी ओलीलाई …. दिल्लीका सञ्चार माध्यमहरू सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ के-के भइरहेको छ । यहाँका होटलहरूमा भइरहेका गतिविधिले पनि देखाइरहेको छ । दूतावासको सक्रियताले पनि देखाउँछ ।’

तर नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने सपना पूरा नहुने उनले बताए । नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ …’ उनले भने, ‘कसैले हतारो नगरे हुन्छ, कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताए । तर यसतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए । उनले भनेका छन्, ‘किनकि भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि … ।’ आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने समेत उनले बताएका छन् ।

पछिल्लो समय नेपालले लिम्पियाधूरा, लिपुलेक र कालापानी क्षेत्रको समेत भूमि समावेश गरी नया नक्सा जारी गरेसंगै भारत नेपाल सरकारसंग रुष्ट्र छ । नेपाल सरकारले सीमा बिबाद समाधान गर्नको लागि दुई देश बिच उच्च स्तरीय बार्ताको लागि बारम्बार गरेको अनुरोधलाई समेत बेवास्ता गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार