काठमांडौ, असार १३ ।
नेपालमा सलह कीरा प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको हो।
‘आज बिहान रूखमा सलह कीरा बसेको देखेपछि किसानहरूले हामीलाई खबर गर्नुभएको हो,’ कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले जानकारी गराए ऊहाले भने, ‘अहिले हामी फिल्डमा छौं। यहाँ सलहका चार वटा झुण्ड रहेछ।’
उनले सलह कीरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयमा जानकारी गराइएको बताए। ‘यसबारे छलफल गर्न आज दिउँसो १ बजे मन्त्रालयले जुम मिटिङ राखेको छ,’ उनले भने। यादवका अनुसार बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह देखिएका छन्।
सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो। यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्याउँछ। सलह कीरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ।
यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ। यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ। जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन्।