काठमाडौं, असार ८ ।
नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको ‘जुम एप’ भर्चुअल बैठकमा अचानक पोर्न भिडियो खुलेपछि कार्यक्रम स्थगित भएको छ। पर्यटनसँग सम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न दिउँसो १ बजे ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरिएको थियो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । मन्त्री बोल्न सुरु गरेको एकछिनमै अश्लिल भिडियोहरु भटाभट देखिन थालेका थिए। त्यसपछि सहभागीहरु अचम्मित गर्दै मिटिङ ‘लिभ’ गरेका थिए।
उक्त जुम मिटिङमा देशभरका २ सयजना भन्दा बढी पर्यटन व्यवसायी, उद्यमी र संचारकर्मी सहभागी थिए। अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो घटना भएको बताइएको छ। पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो ।
बोर्डका एक अधिकारीले कसैले ह्याक गरेर यस्तो दृश्यहरु देखाइएको हुनसक्ने बताउँदै यसबारेमा छानबिन भइरहेको जानकारी दिए। यस घटनाले पछिल्लो समय लाईभ मीटिंगमा अत्यधिक प्रयोग हुने जुम सफ़्टओएरको बिश्वसनियता प्रति नै प्रश्न उठेको छ ।