काठमाडौं, असार ६ ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केहि खुकुलो बनाउदै एक साता थपिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा केही खुकुलो सहित लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गर्ने निर्णय गरेको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताए । थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन दिइनेछ । यस्तै, ट्याक्सीहरूलाई पनि जोर(बिजोर लागू गरेर चलाउन दिइने भएको छ ।
आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय बैठकले निर्णय गरेको छ । यस्तै, सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइने निरौलाले बताए ।
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू यसअघि कै प्रावधान अनुसार बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।