काठमाडौं, जेठ २९ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठक आज सम्पन्न भएको छ । बैठकमा मेयर बालेनले वडाध्यक्षहरुको प्रश्नको उत्तर दिएका छन् । अघिल्लो बैठकमा संसदीय प्रणालीबारे सिक्नुपर्ने भन्दै वडाध्यक्षहरुले बालेनलाई आलोचना गरेता पनि यो बैठक सहज ढंगले सञ्चालन भएको छ । बालेनसँग वडाध्यक्षहरुले खानेपानी, सडक, टेलिकमसँगका सहकार्य, बाढी, ढल र फोहोर व्यवस्थापन सम्बन्धी जिज्ञासा र सुझाव प्रस्तुत गरेका छन् । बालेनले तिनको जवाफसमेत दिएका छन् ।
सडकमै भल बग्ने समस्याको समाधानका लागि मेयर बालेन साहले हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट र हरेक वडामा रिभर्स बोरिङ राख्ने प्रस्ताव गरेका छन् । हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट भएर ग्राउण्ड वाटर रिचार्ज गर्न सकियो भने र हरेक वडामा रिभर्स बोरिङ राख्न सकियो भने पानी सडकमा आउने समस्या नरहने र पानी रिचार्ज पनि हुने उनले बताए । उनले त्रिपुरेश्वर, टेकु लगायतका क्षेत्रमा ढल ठूला राखिने र ढल सफा गर्न जेट मेसिन प्रयोग गरिने बताए । यी काम एकै वर्षमा गर्न सकिने मेयर साहको भनाइ छ ।
उनले अबदेखि सडक विभाग, खानेपानी, विद्युत प्राधिकरण लगायतसँग सहकार्य गरेर काम गर्ने बताए । काठमाडौंमा अबको डेढ वर्षभित्र विद्युतका तारहरु भूमिगत हुने जानकारी आफूले पाएको उनले बताए । कार्यपालिका बैठकमा उनले भने ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्नु भएको छ । यसमा हामी पनि सहकार्य गर्छौं ।’ उनले इन्टरनेटको तार पनि व्यवस्थित गरिने बताए ।