नेपाल र जोर्डन बिचको खेलमा नेपाल ३–० ले पराजित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  356 पटक हेरिएको

काठमाडौं, जेठ २५ ।  

२०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरेका थिए । यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वासी रहेको नेपालले जोर्डन विरुद्ध भने गोल गर्न सकेन ।

जोर्डनका लागि फैजलले खेलको २४औं र ४९औं मिनेटमा गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमा गरेका थिए भने रोहित चन्दले विपक्षी खेलाडीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा फैजलले गोल गरे । नेपालका कप्तान समेत रहेका गोलकिपर किरणले पेनाल्टी सहि जज गरेपनि गोल बचाउन सकेनन् । पहिलो हाफमा नेपालका कप्तान किरणले केही राम्रा बचाउ गर्दा जोर्डनले गोल अन्तर बढाउन सकेन ।

यस्तै फैजलले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनको अग्रता दोब्बर पारेका थिए । त्यसपछि ६७औं मिनेटमा याजनले हेडरमार्फत जोर्डनका लागि तेस्रो गोल गरे । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेई विरुद्धको खेलमा ३ परिवर्तन गर्दै आज ५ डिफेन्डर खेलाएका थिए । तर विकास खवास आघा घण्टापनि मैदानमा टिक्न सकेनन् र उनलाई मैदान बाहिर ल्याउनुपरेको थियो । उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरेका थिए ।

यस्तै विकास संगै अभिषेक रिजाल र दिनेश राजवंशीले आज पहिलो रोजाईँमा खेलेका थिए । दोस्रो हाफमा नवयुग श्रेष्ठ, मनिस डाँगी, विशाल राई र एरिक विष्ट मैदान प्रवेश गरेका थिए । समूह बी मा नेपालले सातौं खेल खेल्दा यो पाँचौ हार हो । यसअघि २०१९ मा जोर्डनमै भएको खेलमा नेपाल ३(० ले पराजित भएको थियो । यस्तै कुवेत विरुद्ध दुवै खेलमा पराजित भएको नेपाल अष्ट्रेलिया विरुद्ध पनि पराजित भएको थियो । चाइनिज ताइपेई विरुद्ध भने नेपाल दुवै खेलमा विजयी भएको थियो ।

७ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको नेपालल अब अष्ट्रेलियासंग खेल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार