काठमाडौं, जेठ २४ ।
सरकारले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ । विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको हो ।
प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले आज सूचना जारी गर्दै आजैका मितिदेखि ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई रोक लगाएको जानकारी दिनुभएको हो । सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको छ । तर, सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज दिउसो शनिबार प्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिनुभएको थियो ।
मन्त्रालयले आजबाटै कडाई गर्न भनेपछि प्राधिकरणले केही बेरअघि सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई सूचना पठाएको छ । प्राधिकरणले नेपालका लागि र नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ भइरहेको जानकारी प्राप्त भएको जनाउँदै टिकट बिक्री नगर्न नगराउन सूचना जारी गरेको हो । यो सूचनासँगै अव मानवीय उद्धार गर्नुपर्ने नै भए सम्बन्धित मुलुकको दुतावासमार्फत चार्टर उडानका लागि अनुमति माग भएमा मात्रै हुनेछ । चैत यता १ सय १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भइसकेका छन् । संकटको समयमा चरम असुली बढेको पाइएपछि सरकारले हस्तक्षेप गरेको हो ।
अत्यन्त जरुरी सुचना