जापान, जेठ २३ ।
पश्चिम जापानमा एक वृद्धले कोरोना भाइरस विरुद्धको लडाईका लागि ३ करोड येन दान दिएका छन् । उनले आफ्नो परिचय नखुलाइकनै सो ठुलो मात्राको रकम दान गरेपछि यसले जापानका प्रमुख संचारमाध्यमहरुमा स्थान पाएको छ । नारा प्रिफेक्चरको नारा सिटी हलमा कोभिड–१९ विरुद्धको लडाईका लागि चन्दा भन्दै एउटा पत्र सहित ३ करोड येन (२ लाख ७४ हजार ३८० डलर) रकम ७० वर्षमाथिका वृद्धले दिएका हुन ।
बिहिवार साँझ ५ बजेतिर नगर सरकारको भवनको पाँचौं तल्लास्थित सामान्य मामिला एकाईमा पुगेर तिनले प्याकेज छोडेर गएको त्यहाँका कर्मचारीहरुले बताएका छन् । प्याकेज खोलेर हेर्दा कर्मचारीले कर्मचारीले १–१ करोड येनका तीन ओटा बिट्टा भेट्टाए । नगद करीब १० ओटा प्लाष्टिकको झोलामा बेरिएको थियो । नगर सरकारले केन्द्र सरिकारले वितरण गरेको १ लाख येन नगद सम्बन्धी फारमको साथमा दानको सूचना पनि वितरण गरेको थियो ।
निजले जापान सरकारले प्रति ब्यक्ति १ लाख येन लिन भर्नुपर्ने फारममा बेरेर उक्त ठुलो मात्राको सहयोग गरेकोले सरकारको राहत पनि नलिएको बुझीएको छ । नगदको हरेक बिट्टामा सूचनाबाट दानका लागि उल्लेख गरिएका कारणहरु भएको हिस्सा काटेर राखिएको थियो । दानमा आएको रकम नगर सरकारको कोरोना विरुद्धको लडाईका लागि प्रयोग गर्नेे बताइएको छ ।