
यूएई, जेठ २३ ।

यूएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल उडेको छ । कोरोनाको कारण समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेका हुन् ।
जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना, ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना छन् । नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउँदै गरेको बताउनुभयो । जहाज साँझ ६ बजेर १० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।
यूएईबाट नेपाल उडान हुने भनेपछि बिहानैदेखि विमानस्थलमा नेपालीहरु पुगेका थिए । सुरुमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिइएको थियो । नेपालीलाई एकपटक जहाजमा राखेर फेरि ओरालिएको थियो । त्यसपछि क्वरेण्टीनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको हो । फर्कने नेपालीको कोरोना जाँच भएको छैन ।
सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएको छ । तर यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन ।




1183 पटक हेरिएको 
















