म्यानमार सरकारको सहयोगमा म्यानमार सेनाको जहाजबाट २६ जना नेपाली नेपाल आईपुगे

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  541 पटक हेरिएको

काठमाडौँ, जेठ २३।  

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै बिदेशमा रहेका स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो ।

सोही प्रक्रियाअन्तर्गत म्यान्मारबाट २६ नेपाली बिहान ११ बजे काठमाडौँ आइपुगेका छन् । यस्तै दोस्रो चरणमा संयुक्त अरब इमिरेट्सबाट नेपाली ल्याइँदैछ । त्यहाँबाट आउने १६८ नेपाली तयारी अवस्थामा रहेका छन् । प्रक्रिया पूरा भए आज अपराह्न ल्याउने कार्यक्रम छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो ।

आज म्यान्मार सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । उक्त विमानबाट ४३ जना म्यान्मा जाँदैछन् । त्यसमा दुई नेपालीसमेत छन् । उनीहरुलाई काठमाडौँको वसुन्धरास्थित यती पार्टी प्यालेसमा राखिने छ ।

विदेशबाट उद्धार गरेर ल्याइएका नागरिकलाई उपत्यकामा तयार पारिएको जगेडासहित नौ ‘होल्डिङ सेन्टर’ मा राखिने छ । उनीहरुलाई विमानस्थलबाट सोझै होल्डिङ सेन्टर पु¥याइने छ । त्यसको व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ ।

विदेशमा स्वास्थ्य परीक्षण गराएर नेगेटिभ भएकाहरुलाई यसरी ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाली सेनाको सहयोगमा काठमाडौँमा पनि आवश्यक स्वास्थ्य परीक्षण गर्नेछ । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको बनाइएको छ ।

काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौँ भक्तपुरमा एक–एक हजार क्षमताको बनाइएको छ भने ललितपुरमा ९०० क्षमताको छ ।

सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई रहेको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काइजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारामा होल्डिङ सेन्टर तयार पारेको छ । जगेडाका रूपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेको होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रूपमा राखिनेछ ।

भक्तपुर एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टैरूपमा राखिनेछ । प्रजिअ पाण्डेले भक्तपुरमा फोटोसहितको फाराम भर्ने व्यवस्था मिलाइएको तथा रात बस्नुपर्ने अवस्था हुनसक्ने भएकाले आवश्यक श्ययाको समेत व्यवस्थापन गरिएको छ ।

ललितपुरमा ९०० जनाका लागि डिलाइट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्कोमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रूपमा सिद्धार्थ कलेज धोवीघाट तयार पारिएको छ । सबै होल्डिङ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिकरूपमा व्यवस्थापन गरिएको छ । अभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्थापन गरिएको छ । सेन्टरमा विशेषज्ञ चिकित्सकसहिको टोली रहनेछ ।

बिदेशबाट नेपाल फर्किएका नेपालीहरु त्रिभुवन बिमानस्थलमा थप फोटोहरु 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार