जापान, जेठ २१ ।
जापानको नागोयामा बसेर अन्तरराष्ट्रिय रुपमा बक्सिङ्ग खेलमा सामेल हुादै आएका अबिरल घिमिरे हिमालयन चितुवा यस पठक जापानको फुकुओका शहरमा हुने ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । बक्सर खेलाडी अविरल घिमिरेले यस भन्दा अघि पनि जापानको राजधानीमा जारी बक्सिङ्ग खेलमा सहभागी भई जित हासिल गरेका थिए । आगामी साउन १७ गते शनिवार जापानको फुकुओका शहरमा आयोजना हुने सो प्रतियोगितामा उनी जापानका व्यवसायिक किक बक्सर हिरोमी वाजिमासँग रिङ्गमा उत्रदैछन् । वाजिमा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।
सामाजिक सञ्चालमा के वान क्लवले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय घिमिरे र वाजिमा बीचमा भिडन्त हुने जनाएको छ । ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध घिमिरेले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१ ’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त खेलाडी समेत हुन । उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै नकआउट गर्दै नयाँ इतिहास कायम गरेका थिए । यसैगरी घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए ।
अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरका बीचमा सो प्रतियागिताका लागि पिताकै विशेष प्रशिक्षणमा तयारी थाल्ने जनाइएको छ । उनले सामाजिक सञ्जाल मार्फत् प्रतियोगिताको आवश्यक तयारी शुरुगरेको पनि जनाएका छन् । प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भनेका छन् “ युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङ्गमा नयाँ उचाइ हासिल गरेको छ । के वान सुपर वेल्टरवेट सुपर फाइट’ चुम्नेमा म विश्वस्त छु । यो प्रतियोगितामा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय भएको समेत बताएका छन। ” के वान बक्सिङ प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङभित्र उतारिने गरिन्छ । रोमाञ्जकारी भिडन्त हेर्ने अग्रीम टिकट लिनुपर्छ ।