खोटाङ्ग, जेठ २१ ।
खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन शुभमका संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ। मदन राईविरूद्ध सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दायर गरेको खोटाङ जिल्ला अदालतका श्रेष्तेदार रामाकान्त यादवले जानकारी दिए। राईको थुनछेक बयान भोली नै सुरू हुने जनाएको छ।
‘आज ढिलो गरी मुद्दा दर्ता भएकाले यो मुद्दाका प्रतिवादी मदन राईको थुनछेक बयान भोलिदेखि मात्र सुरू हुन्छ। बयान सकिएपछि बहस हुन्छ। त्यतिन्जेल उहाँ न्यायिक हिरासतमा हुनुहुनेछ,’ उनले भने। मुद्दाका अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोडेर भन्नेबारे हुने बहसलाई थुनछेक बहस भनिन्छ।
खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख संगिता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेका छन्। ‘मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग,) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग गरेका छौं,’ उनले भनिन्।
ती व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।
त्यस्तै यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ। र यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।