काठमाडौं, जेठ २० ।
नेकपा एमालेको ओली पक्ष र नेपाल पक्षको अन्तरसंघर्ष चर्किरहेको अबस्थामा एकले अर्को पक्षको सांसद, नेता तथा कार्यकर्ता तान्ने क्रम तिब्र भईरहेको छ । यसै क्रममा आज नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ओली पक्षले अनधिकृत रहेको आरोप लगाएको छ ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् । ‘पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुन्नमा आएकोले त्यस्तो कार्यको निन्दा एवं भर्त्सना गर्दछु ।’ तामाङले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
माधव नेपाल पक्षले बिहीबार बिहान ११ बजे भर्चुअल माध्यमबाट एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। नेकपाको आन्तरिक बिबादबाट सृजना भएको आन्तरिक संघर्ष एमाले र माओबादी केन्द्र बिबाजन भईसक्दा पनि समाधान हुन सकेको छैन । एमालेमा झन आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ भने संस्थापक पक्षले नेपाल पक्षलाई कारबाही गर्दै अगाडी बढिरहेको सन्दर्भमा नेपाल पक्षले भने बिपक्षी दलसंग गठबन्धन गर्दै राष्ट्रिय सभा निर्वाचनमा एमालेका दुबै उम्मेद्धारलाई हराउदै ओलीलाई चुनौती दिदै आईरहेको छ । नेपाल समुह नयाँ पार्टी गठन गरी बिपक्षी गठबन्धनसँग चुनाबी मोर्चा गर्दै ओलीको अहंकारलाई चुर पार्ने रणनितिमा लागेको छ भने ओलि पक्ष नेपाल पक्षका युवा नेतालाई एमालेमा फर्काउने रणनितिमा लागेको छ ।