न्युयोर्क लगायत बिभिन्न शहरमा कफ्र्यु जारी, हिंसा नियंत्रण गर्न सेना परिचालन गर्ने ट्रम्पको तयारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  374 पटक हेरिएको

न्युयोर्क अमेरिका, जेठ २० ।  

अमेरिकाको अश्वेत नागरिक जर्ज फ्ल्योड प्रहरीद्वारा मारिएपछि भडकिएको हिंशा बढदै गएपछि न्युयोर्क सहरमा कफ्र्यु घोषणा गरिएको छ । न्युयोर्कका मेयर बिल डे ब्लाजिओले ट्वीट गर्दै न्युयोर्क सीटीभरी रातीको ११ बजेदेखि बिहान ५ बजेसम्म लागु हुने गरी कफ्र्यु आदेश जारी गरिएको बताएका छन । मेयर ब्लाजिओले न्युयोर्कको सुरक्षालाई ध्यानमा राखेर कफ्र्युको आदेश जारी गरिएको बताएका छन । मेयरले न्युयोर्क राज्यका गभर्नर एण्ड्रयु कुमोसंग परामर्श गरेर यो निर्णय गरिएको जानकारी ब्लाजिओले ट्वीटमा जानकारी गराएका छन ।

न्युयोर्कका मेयरले न्युयोर्क सीटीमा प्रहरीको तैनाथीपनि ४ हजारबाट बढाएर ८ हजार पुर्याएको बताएका छन । न्युयोर्क सीटीका लोअर म्यानहाटन र ब्रूकलिन क्षेत्रमा हिंशात्मक प्रदर्शनसंगै लुटपाटपनि बढ्न थालेपछि सीटीले कफ्युको आदेश जारी गरेको हो ।
मिनेपोलिसमा प्रहरीद्वारा अश्वेत नागरिक जर्ज फ्ल्योइड मारिएपछि अधिकांश राज्यमा हिंशा भडकिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्। प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका हुन्।

टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने, “दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु।”

टेलिभिजनमार्फत् सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए। उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो।

ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो। ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार