काठमाण्डौँ, जेठ १७ ।
शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ । यो सँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा १ सय २४ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । शनिबार केन्द्रीय प्रयोगशालामा परीक्षण गराएकामध्ये कपिलवस्तुका ७७, धनुषाका ७, झापा १, ललितपुर १, महोत्तरीका ४, रौतहट ६, सर्लाहीका १७ र सिरहाका ११ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा ३६ जनाको रिपोर्ट पोजिटिभ आएको छ। जसमा कपिलवस्तुका मात्रै २९ जना छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजिटिभ आएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा आठ जनाको पोजिटिभ आएको छ। नारायणी अस्पताल वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ गरेर तीन जनाको रिपोर्ट पोजिटिभ आएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। उनीहरु दैलेखका हुन्। त्यसैगरी विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ। योसँगै जम्मा संक्रमित संख्या १४ सय एक पुगेको हो। शनिबार कोरोना पोजिटिभ पुष्टि भएकामध्ये १८५ पुरुष र चार महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।