नेपाल ईराकसंग ६-२ गोल अन्तरले पराजित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  549 पटक हेरिएको

ईराक, जेठ १५ ।

इराकविरुद्ध जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल ४-२ ले पछि परेको नेपाल अन्तत ६-२ गोल अन्तरले पराजित भएको छ। इराकको बसरामा भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको सातौं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो। उसका लागि कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गरे। उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रह्यो। आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो।

नेपालले खेलको ३० औं मिनेटमा मनिष डाँगीको गोलमा घरेलु टोलीमाथि अग्रता लियो। उनले सन्तोष तामाङको पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोल गरेका थिए। गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गर्दै नेपालमा अग्रता दिलाए।

खेलको ४० औं मिनेटमा इराकले बराबरी गोल फर्कायो। कर्नरमा आएको बललाई मोहमद अब्दुल्जारा ओबेदले हेडरमार्फत बराबरी गोल गरे। त्यसको एक मिनेट नबित्दै इराकले तेस्रो गोल गर्दै नेपालमाथि अग्रता लियो। डिफेन्समा समन्वय नहुँदा अयमन हुसेन गबधनले पेनाल्टी क्षेत्रभित्र बल पाएर गोलरक्षक किरणलाई छलाउँदै इराकलाई अग्रता दिलाए।

यस्तै पहिलो हाफको इन्ज्यूरी समयमा गबधनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे। विंगबाट आएको क्रसलाई उनले हेडिङमार्फत गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ४-२ को अग्रता दिलाए।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षकमा किरण चेम्जोङको कप्तानीमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका थिए। दुवै खेलाडी पहिलो पटक टोलीमा परेसँगै डेब्यु गर्न सफल भएका हुन्। पहिलो हाफ़मा ४-२ को गोल अन्तरले पछी परेको नेपाल पछिल्लो हाफ़मा पनि २ गोल खान पुग्यो । बिश्वकप खेलिसकेको ईराक टिमको अगाडी नेपाली फुटबल खेलाडीको सम्मानजनक प्रदर्शन रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार