काठमाडौं, जेठ १५ ।
सरकारले निजामती कर्मचारीको मासिक तलबमा समान दुई हजार रुपैयाँ बृद्धि गरेको छ । अघिल्लो बर्ष नबढाइएको तलब यस बर्ष भने २ हजारको दरले बढाएको हो । कोरोना-१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत रुपमा तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने उद्देश्यले हाललाई २ हजार मात्र भएपनि बढाएको अर्थमन्त्रि पौडेलले बताए । हाल बृद्धि गरिएको तलब साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा हाल दिइएको महंगी भत्तालाई कायमै राखिएको छ । यसअघि आर्थिक वर्ष २०७६/७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो । समयानुकुल तलव भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै कर्मचारी युनियनले सरकारलाई दवाव दिइरहेका थिए । निजामती कर्मचारीको तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न ‘पे कमिसन’ गठन गर्ने र सो को आधारमा पछि तलबमान कायम गर्ने अर्थमन्त्रीले बताएका छन् ।
कर्मचारीको १० लाखको सामूहिक दुर्घटना विमा र एक लाखको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ । निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निमार्ण गर्ने समेत अर्थमन्त्रीले बताएका छन् ।
बजेटमा निजामती कर्मचारीले तिर्ने सामाजिक सुरक्षा करको ५० प्रतिशत निजामती अस्पतालको पूर्वाधारका लागि दिने र अस्पतालमा निजामती कर्मचारीका लागि शैया तोक्नुका साथै डेडिकेटेड सेवा सुरु गर्ने समेत बजेटमा उल्लेख छ । निजामती कर्मचारीको सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निजामती विद्यालय सञ्चालन गर्ने र भएका विद्यालयलाई स्तरोन्नती गर्ने अर्थमन्त्रीले बताए ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट(बजेटको पुर्णपाठ सहित)