बिरगन्ज, जेठ १२ ।
खुशीको खबर आज बिहानै वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु, १० बालबालिका सहित १८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भइ नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकामध्ये थप १८ जनाले आइतबार राति कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका हुन्।
डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेको अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाकारी दिनुभयो । उक्त परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।
उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। यसअघि शनिबार पनि नारायणी अस्पतालबाटै ७ जनालाई डिस्चार्ज गरिएको थियो। यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ। हालसम्म नेपालमा कोरोना भाईरस संकमितको संख्या ६०३ पुगेको छ भने ३ जनाले ज्यान गुमाईसकेको छ । पछिल्लो समया कोरोना भाईरस संक्रमित हुनेहरु स्वास्थ्य लाभ लिई घर फर्कनेहरुको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ ।