नेकपा एमालेद्धारा माधव र झलनाथसहित ११ नेतालाई पार्टीबाट निष्काशित, १२ जनालाई २४ घण्टे स्पष्टीकरण

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  863 पटक हेरिएको

काठमाडौं, जेठ १० ।  

नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको हो ।

शनिबारको स्थायी कमिटीको निर्णयअनुसार केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र काटेका थिए । तर ११ जनाले नै जवाफ नदिएपछि निष्काशन गर्ने निर्णय भएको जनाएको छ । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको जनाएको छ । यस्तै नेकपा एमालेले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी रहेको पनि जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र र नेकपा एमाले एकिकरण पश्चात बनेको नेकपा भित्रबाट चलेको शक्ति संघर्ष संसद बिघटन हुदै पार्टी बिभाजनमा पुगेर माओबादी र नेकपा एमालेमा परिणत भएको थियो । नेकपा एमाले भित्र पनि हालसम्म शक्ति संघर्ष उत्कर्षमा पुगेको अबस्थामा ओलि सरकारलाई नै बिस्थापन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका नेकपा बरिष्ठ नेता कमरेड माधब कुमार नेपाल र झलनाथ खनाल सहितका नेता हाल पार्टीबाट नै बिस्थापित हुन पुगेको छ । अब नेकपा एमाले एक हुने कुनै पनि सम्भावना नरहेको र माधब नेपाल समुह नयाँ पार्टी गठन गरी चुनाबमा जाने निश्चित प्राय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार