सर्वोच्चद्धारा टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै जन्मकैदको फैसल्ला

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  112 पटक हेरिएको

काठमाडौं, जेठ २ ।

सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त मुद्दा सोमबार नियमित सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीशद्वयको इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मंगलबार समेत त्यसलाई निरन्तरता दिएको हो ।

मंगलबार इजलासले चौधरीविरुद्ध उच्च अदालतको फैसला मिलेकै देखिएकाले जन्मकैदको फैसला सदर हुने ठहर गरेको हो । चौधरीले यो मुद्दामा २० वर्ष कैद सजाय पूरा गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार