जापान, बैशाख २५ ।

जापानमा एक जना नेपाली युवाको असामयिक निधन भएको छ । सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा रोजगाररत ४१ वर्षीय मन कुमार मगरको यहि मे महिनाको ३ तारिक निधन भएको हो ।प्राप्त जानकारी अनुसार प्रहरी हिरासतमा रहँदा अस्वस्थ मगरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जापान प्रहरीले जनाएको हो ।
यस घटनामा परिवारलाई साथ सहयोग गर्दै आएका एनआरएनए आईसीसी सदस्य दिपक कार्कीका अनुसार, मन कुमार गत अप्रिल १५ तारिख बिहान १० बजेतिर साथीकोमा जाने भनि निवासबाट हिँडेका थिए । तर साँझ नफर्किए पछि उनकी श्रीमतीले खोजी सुरु गरेकी थिईन् । सबै ठाउँमा सोधी खोजी गर्दापनि नभेटिएपछि प्रहरीलाई खबर गर्दा हिरासतमा रहेको जानकारी प्राप्त भएको थियो ।
प्रहरीको हिरासतमा रहँदा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको लागि उनलाई अस्पताल पुर्याईएको थियो । अस्पतालमा भेन्टिलेटरमा राखेर लामो समय उपचार गर्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार नभएका मगरलाई यहि मे ३ तारिख अस्पतालले मृत घोषणा गरेको जनाएको हो ।
हाल उनको पार्थिव शरीर प्रहरीको जिम्मामा राखिएको छ भने, अन्त्येष्टि कार्यमा १८ बर्सिय छोरा र वर्ष १० की छोरीले बावुको मुख हेर्न चाहाना गरे बमोजिम भिषाको प्रक्रिया पुरा गरि जापान आऊने प्रकृया अघि बढाईएको छ । जापानमा प्रहरी हिरासत पुगेका बिदेशी नागरिकहरुको जानकारी कोही कसैलाई पनि नदीने भएकोले प्राय गुमनाम हुने गर्छन । यस अघि पनि श्रीलंकन नागरिकको हिरासत भित्र नै निधन भएको घटना बाहिर आएको थियो ।
अन्त्येष्टिका लागि लाग्ने खर्च साथै नेपालबाट छोरा-छोरी लगायतका परिवारका सदस्यहरु आउनका लागि ठूलो रकम खर्च हुने भएकाले अन्त्येष्टिको लागि आवश्यक सहयोगको अपेक्षा मृतककी श्रीमती कान्छिमाया मगरले सहयोगका लागि अनुरोध गर्नुभएको छ । उक्त सहयोग रकम नागोया स्थित रहेका संघसंस्थाको नेतृत्वमा भईरहेको समेत जानकारी गराउनु भयो ।