![vision-online-advertise](https://visiononlinenews.com/wp-content/uploads/2020/03/header-image-1024x85.jpg)
काठमाडौं, बैशाख २१ ।
![](https://visiononlinenews.com/wp-content/uploads/2020/05/Nepal-Corona-1024x573.jpg)
नेपालमा एकैदिन १० जना ब्यक्तिमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्जमा मात्रै नौजना र पर्सामा एक जना कोरोना संक्रमित भेटिएका जनाएको छ । नेपालगञ्जमा पाँच पुरुष र चारजना महिलामा कोरोना भएको पुष्टि गरेका छन्। देवकोटाका अनुसार नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालस्थित ल्याबमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना देखिएको हो। उनीहरुलाई भेरी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ।
यसैगरी पर्साको वीरगञ्जमा पनि एकजना ३६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको छ। उनलाई अहिले नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि ६९ पुगेको छ। नेपालगञ्जमा यसअघि एकजना धर्मगुरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो। यता वीरगञ्ज क्षेत्रमा मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ पुगेको छ। वैशाख १४ गते पर्साको वीरगन्जस्थित छपकैयाकै २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसलगत्तै भोलिपल्ट उनीहरुको कन्ट्याक हिस्ट्री खोतल्दै जाँदा बाराको जीतपुरसिमराको क्वारेन्टाइनमा राखिएका थप २ पुरुष र वीरगन्जको छपकैयाका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो। उनीहरुसहित पर्सामा संक्रमितको संख्या आठ पुगेको थियो। पुनः आज भेटिएका संक्रमित व्यक्तिसहित अब पर्साको वीरगन्ज क्षेत्रमा मात्र संक्रमितको संख्या ९ पुगेको नारायणी अस्पतालले जनाएको छ। वीरगन्जमा गत चैत ३० मा पहिलो पटक भारतीय ३ जमातीमा कोरोना पुष्टि भई पर्सा कोरोना संक्रमित फेला पर्ने जिल्लाका रुपमा दर्ज भएको थियो। आइतबार आज संक्रमितसहित प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या १३ पुगेको छ।
![vision-online-advertise](https://visiononlinenews.com/wp-content/uploads/2020/03/header-image-1024x85.jpg)