काठमाडौं, वैशाख १९ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनस् नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भनेका छन् । आइतबार विहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रचण्डले पोखरेल अल्पमतमा रहेको भन्दै अल्पमतमा रहेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नु हास्यास्पद भएको पनि उल्लेख गरेका छन् ।
‘राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ’ उनले भनेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी दल, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतकासमेत गरी ४२ सांसदहरुले हस्ताक्षर गरी मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई समर्थन गरेको भन्दै प्रचण्डले पोखरेललाई ३७ जनाको मात्र समर्थन रहेको उल्लेख गरेका छन् । उनले प्रदेश प्रमुखलाई आफ्नो कदम सच्याउन पनि भनेका छन् ।
‘प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्विनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गर्दछौं’ प्रचण्डले भनेका छन् । आईतबार बिहान एकाएक मुख्यमन्त्रि पदबाट राजिनामा दिएका पोखरेलले पुन बहुमतको झुटा बिबरण पेश गर्दै पुन मुख्यमन्त्रिको नियुक्ति लिएका थिए । अल्पमतमा परेका पोखरेललाई पुन नियुक्ति गरेसँगै लुम्बिनि प्रदेशमा राजनितिक द्धन्द शुरु भएको छ ।
प्रचण्डद्धारा जारी प्रेस बिज्ञप्ति