काठमाडौं, वैशाख १३ ।
सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) तथा जापानिज भाषा अध्ययन गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ ।
वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष)जापानिज भाषा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी नदिने निर्णय फिर्ता लिएको हो ।
गत चैत १९ गतेदेखि नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र त्यहि आधारमा निर्देशिका तयार गरेको भन्दै स्नातक अघिको कुनै पनि कार्यक्रमको लागि एनओसी दिन रोकेको थियो । तर चौतर्फी विरोध तथा दबावको कारण सरकारले निर्देशिका संशोधन गरी कक्षा १२ पछि र स्नातकअघिका शैक्षिक कार्यक्रमको लागि पनि एनओसी दिने निर्णय गरेको छ ।
कतिपय कलेजहरुले सोझै स्नातक भर्ना हुन नदिने, डिप्लोमा, एडभान्स डिप्लोमा, एक वर्षे कोर्षहरु गराउने भएकोले कक्षा १२ पछिका कार्यक्रमको लागि अर्थात यहाँ भन्दा अगाडि गरिरहेको कामलाई निरन्तरता दिने निर्णय गरिएको स्रोतले जनाएको छ । जापानको हकमा भने जापानमा शुरूवाती चरणदेखी नै जापनिज भाषा अध्ययन पश्चात मात्र बिश्वबिध्यालय तथा कलेज भर्ना हुने नियम रहेकोले पनी सरकारले एनओसी नादिनें निर्णय फिर्ता लिएको बताईएको छ ।
‘विदेशी विश्वविद्यालयको कपितय प्राविधिक नियमहरुका कारण संशोधन गर्नुपर्ने भयो । हामीले हाम्रो संविधान र शिक्षा ऐनको संशोधन अनुसार निर्देशिका बनायौं तर कतिपय विश्वविद्यालयले सोझै स्नातक भर्ना नदिने भएपछि निर्देशिका पनि संशोधन गर्नुपर्ने भयो’, ती अधिकारीले भने ।
वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ को दफा २८ ले ‘कक्षा १२ वा सो सरह उत्तीर्ण गरी विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई यस निर्देशिकाको व्यवस्था र प्रक्रिया पूरा गरी निर्देशिका जारी हुनुअघि स्वीकृति प्रदान गरिएका कार्यक्रमको लागि स्वीकृति प्रदान गर्न बाधा पर्ने छैन’, भनेको छ ।