भारतमा चौबीस घण्टाको अन्तरालमा दुई हजार ७६७ कोरोना संक्रमितको मृत्यु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  567 पटक हेरिएको

भारत, बैशाख १३ । 

भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको र पछिल्लो चौबीस घण्टामा दुई हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९२ हजार ३११ पुगेको छ । हरेकदिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४९ हजार ६९१ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको तथ्यांक छ ।

कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्च स्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।

खुला सीमाका कारण त्यसको असर नेपालमा पनि परेको छ । रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेपछि नेपालमा पनि कोरोना संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको छ । सीमावर्ती शहरमा कोरोना संक्रमितको संख्या उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउँदै आएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने तथा भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि नेपालमा पनि संक्रमण समुदायस्तरमा उच्चस्तरमा फैलिरहेको छ । ५०० धन्दा धेरै संक्रमित रहेका जिल्लामा सरकारले निषेधाज्ञा लगाउने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार